Women’s Health and COVID-19 / महिला स्वास्थ्य र कोरोनाको असर

महिलाका जिज्ञासा र समस्या
फलो अपमा आउन नसकेका कारणले कुन कुन औषधि नियमित गर्ने, कुन कुन औषधि खान छाड्ने विषयमा बढी जिज्ञासा राख्नु हुन्छ । यसबाहेक अचानक पेट दुखेका बिरामीहरुले अब के गर्ने, कहाँ जाने भन्ने जिज्ञासा पनि राख्न हुन्छ भने भरखरै विवाह गरेका दम्पत्तिहरुले बच्चाको प्लानिङदेखि परिवारका नियोजनका साधनहरुको बारेमा समेत जिज्ञासा राख्नु हुन्छ । यसबाहेक कतिपयले गर्भपतनदेखि गर्भपातसम्मका विषयमा जिज्ञासा राख्नु हुन्छ । अहिले कोभिडका कारण स्वास्थ्य केन्द्रमा गर्भपतनको सुविधा उपलब्ध नभएकाले यसले जनसंख्या वृद्धि हुनेतर्फ संकेत गरेको हामीले बुझेका छौं ।

प्रजनन स्वास्थ्य
कोरोनाका कारण यतिबेला प्रजनन स्वास्थ्यमा एकदमै ठूलो समस्या पारेको छ । कोरोनाको संक्रमणको जोखिमले भन्दा पनि उक्त कुराले महिलाहरुमा अनावश्यक तनाव बढाएको छ । तनावका कारणले गर्दा महिलाहरुमा अहिले ‘मिस्ड अबोर्सन’ को समस्या ह्वात्तै बढेको छ । गर्भवती महिलाहरुले नचाहँदा नचाहँदै तनावका कारण उनीहरुको गर्भपात भैरहेको छ । यसबाहेक निर्धारित मितिभन्दा अघि नै बच्चा जन्मिने क्रम पनि बढेको छ । यो कोरोना लागेर होइन कोरोनाका कारण उत्पन्न तनावले भैरहेको हाम्रो बुझाइ छ ।

महिलाले आफ्नो स्वास्थको हेरचाह यसरी गर्नु पर्छ
अहिलेको अवस्थामा सबैभन्दा पहिला पौष्टिक आहारा खानका लागि विशेष ध्यान दिनु पर्छ । यतिबेला फास्टफुड होइन घरमै बनाइएका ताजा खानेकुरा खान जोड दिनु पर्छ । दिनभरी मोबाइल र टेलिभिजन हेरेर समय बिताउनुको साटो रुटिन बनाएर ब्यायाम गर्ने, सरसफाइ गर्ने, पर्सनल हाइजिनहरु मेन्टेन गर्ने, विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्य मापदण्डहरु (सामाजिक दुर, मास्क, सेनिटाजर, हातको सफाइ) पालना गर्नमा ध्यान दिनु पर्छ । घरमा बस्ता पनि मास्क लगाउने र सामाजिक दुरीलाई पालना गरिरहनु पर्छ । किनभने कोरोनाले आफन्त भन्दैन । खासगरी अहिले कसैको घरमा खाना खाने गरी नजानु नै उत्तम हो, यदि जानै परेमा दुई–तीन परिवारका सदस्यहरु मिसिएर एउटै डाइनिङ टेबलमा खाना नखाएकै राम्रो, त्यसको साटो एक–एक परिवारका सदस्यले पालै पालो खाना खाएर मास्क लगाइहाल्नु उचित हुन्छ । पछिल्लो समय डाइनिङ टेबलबाट समेत कोरोना भाइरस सरेको कुरा बाहिरिएपछि यो उपाय अपनाउनु पर्ने देखिएको छ ।

नवविवाहित दम्पत्तिहरुलाई सुझाव
बच्चा जन्माउन पाउनु हरेक व्यक्तिको मानव अधिकारको कुरा हो । त्यसैले अहिलेको अवस्थामा पनि बच्चा जन्माउने बारेमा सल्लाह गर्न सकिन्छ, योजना बनाउन सकिन्छ । अहिले नव दम्पत्तिहरुले बच्चा जन्माउने बारेमा योजना बनाउन कुनै आपत्ति छैन । यद्यपि, हामी के सुझाव दिन्छौं भने तत्कालका लागि परिवार नियोजनका साधनहरुको प्रयोग गरेर यो महामारीपछि मात्रै आमा–बुवा बन्ने योजना बनाउनु अहिलेका लागि सान्दर्भिक हुन सक्छ ।

महिलाहरुमा महिनावारीको गढबडी
यसको मुख्य कारण पनि तनाव नै हो । महिनाबारी हुने भन्ने कुरा कतिपय अवस्थामा मष्तिष्कले पनि नियन्त्रण गर्छ । तनावका कारण महिलाहरुमा समयमा महिनावारी नहुने समस्या देखिएको हो । वास्तवमा महिनावारी हुने भनेको हार्मोनको खेल हो । यसबाहेक ४० वर्ष कटेका महिलाहरुमा यस्तो समस्या देखिन सक्छ । यो समस्या देखियो भने पनि आत्तिनु पर्दैन, यो हार्मोनको गढबडीका कारणले भएको हो, समयसंगै आफैं ठिक हुन्छ ।

डा. तुम्ला शाह
वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञका साथै बाँझोपन विशेषज्ञ
सुखी परिवार क्लिनिक
सेन्त्रल कोलोनी, कालिमाटी, काठमाडौं
तीन दशकदेखि स्वास्थ्य सेवामा सक्रिय

नोट :
डा. तुम्ला शाहले अहिलेको अवस्थामा, प्रसुती, स्त्री रोग तथा बाँझोपनका बारेमा अनलाइन तथा टेलिफोनमार्फत नै परामर्श दिइराख्नु भएको छ । उहा हरेक दिन दिउँसो १ देखि ३ बजेसम्म मोबाइल नम्बर ९८५१०२७०१० मा उपलब्ध हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *